
एजेन्सी । आगामी बर्ष कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा अस्ट्रेलियाले चाइनिज ताइपेईमाथि शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा अस्ट्रेलियाले ताइपेईलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
अस्ट्रेलियाको घरेलु मैदानमा सम्पन्र भएको खेलमा घरेलु टोलीको जितमा मिचेल डुकले २ गोल गर्दा ह्यारी सौट्टर, जेमी माक्लारेन र ट्रेन्ट सेन्सबुरीले १/१ गोल गरे । ताइपेईका वेइ–जेइ जाओले एक गोल फर्काए । पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो हाफमा थप २ गोल थप्दा ताइपेईले एक गोल फर्कायो ।
उक्त जितसँगै समूह ‘बी’को शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले १८ अङ्क जोडेको छ । उसले आफ्नो विजयी यात्रा कायमै राखेको छ । अब अस्ट्रेलियाले शुक्रबार नेपालसँग खेल्नेछ । नेपाल ६ अङ्कका साथ चौथो स्थानमा छ । यता नेपाल भने सोमबार राति जोर्डन सँग ३–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै अङ्कविहीन ताइपेई भने पुछारमा छ ।