
काठमाडौं । नेपाली कांग्रेसमा नेता गगन थापाले बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन् ।
शुक्रबारको प्रदेश सभा बैठकमा वैद्यले दिएको अभिवयक्तिप्रति उनले कांग्रेसभित्र हिंसालाई स्थान नहुने स्पष्ट पारे ।
‘नरोत्तम वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन ।
मलाई विश्वास छ, दलको नेताको निर्देशनअनुसार आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिनुहुनेछ । अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन, आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन,’ थापाले ट्विटरमार्फत भनेका छन् ।
शुक्रबार बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।