
एजेन्सी । २०२० अन्तर्गत राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै युरोपका विभिन्न ११ सहरमा जारी १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मङ्गलबार राति प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल भएसँगै क्वाटरफाइनलक पुग्ने आठै टोलीको टुङ्गो लागेको हो ।
गए राति जर्मनीविरुद्ध २–० गोलको जित दर्ता गर्दै इंग्ल्याण्ड अघिल्लो चरणमा प्रवेश गरेको थियो । यस्तै, अर्को खेलमा स्विडेनमाथि अतिरिक्त समयमा २–१ गोलको जित निकाल्दै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यसअघि स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, इटाली, चेक रिपब्लिक र डेनमार्क अन्तिम आठमा पुगेका थिए ।
यसपटक ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’का चारै टोली बाहिरिएका छन् । उक्त समूहमा साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स, जर्मनी तथा हङ्गेरी रहेका थिए । पोर्चुगल बेल्जियमसँग १–० गोलले पराजित हुँदै बाहिरिएको हो भने फ्रान्स स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै बाहिरिएको हो ।
जर्मनी इंग्ल्याण्डसँग पराजित हुँदै बाहिरिँदा हङ्गेरी समूह चरणबाटै बाहिरिएको थियो । अब, अन्तिम आठको खेलहरू शुक्रबारबाट सुरु हुनेछन् ।
क्वाटरफाइनल समीकरण
स्विट्जरल्यान्डविरुद्ध स्पेन– शुक्रबार राति ९ः४५ बजे
बेल्जियमविरुद्ध इटाली– शुक्रबार राति १२ः४५ बजे
चेक रिपब्लिकविरुद्ध डेनमार्क– शनिबार राति ९ः४५ बजे
युक्रेनविरुद्ध इंग्ल्याण्ड – शनिबार राति १२ः४५ बजे