
काठमाडौं । भावी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पहिलो चरणमै मन्त्री बन्न अफर गरेका छन् । तर, पार्टीले निर्णय नगरेको भन्दै तत्काल सरकारमा सहभागी नहुने पौडेलले बताइन् ।उनले भनिन्, ‘शेरबहादुर देउवाले मलाई मन्त्री बन्न प्रस्ताव गर्नुभएको हो । प्रचण्ड र उपेन्द्र यादवले पनि तपाईंहरू सरकारमा आउनुपर्छ भन्नुभएको छ । तर, हामीले सरकारमा जाने विषयमा अहिलेसम्म कुनै छलफल गरेका छैनौं ।’





आज हुने पहिलो मन्त्रिपरिषद् विस्तारमा जनमोर्चाको सहभागिता नरहने पौडेलले प्रष्ट्याइन् । भविष्यमा सहभागी हुने/नहुनेबारे पार्टीको बैठक बसेर निर्णय लिइहने उनको भनाइ छ ।पौडेलले भनिन्, ‘हामीलाई सरकारमा जान कुनै हतारो छैन । जानैपर्छ भन्ने पनि छैन ।’तपाईं व्यक्तिगतरूपमा अहिले मन्त्री बन्न अनिच्छुक हो ? भन्ने प्रश्नमा पौडेलले भनिन्, ‘मेरो व्यक्तिगत इच्छा, अनिच्छा भन्दा पनि पार्टीले के निर्णय गर्छ त्यही हुन्छ ।’पार्टीको बैठक कहिले बस्छ भन्ने निधो नभइसकेको उनले बताइन् ।जनमोर्चा पछिल्लो समय विपक्षी गठवन्धनमा सामेल थियो । पार्टीका तर्फबाट उपाध्यक्ष पौडेलले नै गठवन्धनका बैठकहरुमा सहभागिता जनाउँदै आएकी थिइन् ।