
काठमाडौँ : विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताबारे निर्वाचन आयोगमा बहस सुरु भएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै समूहले आफूहरू पार्टीमा एक भएर बस्न नसक्ने भन्दै छुट्टाइदिन सहमति जनाएपछि आयोगले इजलासमार्फत सुनुवाइ थालेको हो । आयोगको निर्णयपछि दुबै पक्ष कानुनी रुपमा अलग हुने छन ।

अहिले निवेदक यादव समूहको तर्फबाट कानुन व्यवसायीले बहस गरिरहेका छन् । यादव समूहको बहस सकिएपछि ठाकुर समूहका कानुन व्यवसायीले बहस गर्नेछन् । आयोगले जसपाबारे निर्णय लिन प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू रहेको इजलास गठन गरेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा विवाद भएपछि जसपा फुटको चरणसम्म पुगेको हो । पार्टीको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले तत्कालिन ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो भने संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई समूहले पनि ओली सरकारविरुद्ध आन्दोलन गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिएको थियो ।



अहिलेसम्म पनि अवस्था त्यही छ । अब यादव समूह अहिले सरकारमा जाने तयारी गरिरहेको छ भने ठाकुर समूह ओलीसँग बाहिरै रहने तयारीमा छन् । आधिकारिकताबारे इजलासमा सुनुवाइ जारी रहेका बेला दुवै समूहका कार्यकारिणी सदस्य र सांसदहरु निर्वाचन आयोग परिसरमा भेला भएका छन् ।
