अवैध लागूऔषध सहित पक्राउ

नेपालगंज उपमहानगरपालिका-१५ बस्ने ६१ वर्षीय गुन्नु कबडिया र सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई २ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, श्रोत नखुलेको नगद ५ लाख १५ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुको घर कोठा तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकबाट ८१ केजी ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका(४ बस्ने ४२ वर्षीय बाबुराम नेगीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा रोकी राखेको ना।८ ख ८२८४ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रक पछाडी ढालामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक नेगीलाई प्रहरीले पक्राउ गरेको हो ।