माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । सत्तासाझेदार नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ। माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको हो ।

यसअघि मंगलबार बसेको बैठकले बुधबार ३ बजे पुनः बैठक बस्ने र माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने निर्णय गरेको थियो । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति गरेको छ ।

बिज्ञापन

प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो पेश गर्न गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् ।

माओवादीको मंगलबार बसेकोे बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन सकेको थिएन ।अध्यक्ष दाहालले सबै सांसदले मन्त्री बनाउन दबाब दिएपछि आफू मानसिक तनावमा रहेको बताएका थिए।