एकै दिन तीन प्रान्तीय राजधानी तालिबानद्वारा कब्जा

एजेन्सी : अफगानिस्तानमा आफ्नो प्रभाव क्षेत्र तीव्र गतिमा बिस्तार गर्दै लगेको तालिबानले आइतबार एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानमा पछिल्लो केही दिनयता तालिबान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरिरहेका छन् ।

ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाएपछि शहर पसेका तालिबान लडाकुले आइतबार उत्तरी शहर कुन्दुजसहित सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गरेका हुन् । योसँगै अहिलेसम्म तालिबानले पाँच प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भएको छ ।

बिज्ञापन

यसअघि शनिबार तालिबानले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा शुक्रबार दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो । अहिलेसम्म नियन्त्रणमा लिइएका मध्ये कुन्दुज रणनीतिक रुपमा निकै महत्वपूर्ण रहेको छ ।

यो शरह अरु महत्वपूर्ण केन्द्रहरुसँग जोडिएको छ, जसमा केन्द्रीय राजधानी काबुल पनि पर्छ । अमेरिकी तथा अरु विदेशी सैनिक फिर्ता हुने थालेपछि अफगानिस्तानमा हिंसा बढ्दै गएको छ ।