ठाकुरको रिट न्यायाधीशद्वय कार्की र भट्टराईको इजलासमा

काठमाडौं : जनता समाजवादी पार्टीका प्रथम वरियताका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध सर्वाेच्च अदालतमा दायर गरेको रिट वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा परेको छ ।

निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिने निर्णय गरेपछि त्यसविरुद्ध अध्यक्ष ठाकुरले सर्वाेच्चमा रिट निवेदन दिएका थिए । रिट दायर भए पनि यसबीचमा विभिन्न कारणले सुनुवाइ हुन सकेको थिएन । आज कार्की र भट्टराईको संयुक्त इजलासमा पहिलो नम्बरमा परेको छ । आज भने सुनुवाइ हुने सर्वाेच्च अदालतले जनाएको छ ।

बिज्ञापन

केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकार प्रयोग गरी प्रथम अध्यक्षको हैसियतले गरेको समिति विस्तारलाई मान्यता नदिएर आयोगले पुरानै कार्यकारिणी समितिको आधारमा यादव समूहलाई आधिकारिकता दिएको भन्दै ठाकुरले आयोगको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् । आयोगले भने पुरानै कार्यकारिणी समितिको बहुमत सदस्य संख्याका आधारमा यादव समूहलाई आधिकारिकता दिएको थियो । त्यसपछि यादवले ५१ सदस्यीय कार्यकारिणी समितिलाई झारेर ३५ सदस्यीय कार्यकारिणी समिति कायम गरेका थिए ।