महन्थ ठाकुर पक्षको भन्दै राज्यमन्त्रीबाट हटाइएका सुरेश मण्डल जसपा केन्द्रीय समिति बैठकमा

जनकपुरधाम । महन्थ ठाकुर पक्षको भन्दै प्रदेश २ सरकारले राज्यमन्त्रीबाट हटाइएका नेता सुरेश मण्डल पनि जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।काठमाडौंको कालिकास्थानमा आजदेखि दुई दिनका लागि बसेको जसपा केन्द्रीय समिति बैठकमा मण्डल सहभागी भएका हुन् ।

महन्थ ठाकुर पक्षले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएलगत्तै अध्यक्ष उपेन्द्र यादवको ठाडो निर्देशनमा मुख्यमन्त्री लालबाबु राउतले ०७८ जेठ २३ गते भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए ।

बिज्ञापन

पदमुक्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रहेका मण्डल पनि परे । तत्कालीन राजपाबाट सिरहा क्षेत्र नम्बर ४(ख)बाट निर्वाचित मण्डल महन्थ ठाकुर निकट थिए ।महन्थ नेतृत्व तमलोपा गठन हुँदा उनी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष थिए ।

यस्तै वरिष्ठ नेता राजेन्द्र महतो निकट जनकपुरधामका मेयर लालकिशोर साह पनि बैठकमा सहभागी भएका छन् । तत्कालीन राजपाबाटै मेयरमा निर्वाचित मेयर साह उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि केही दिन मौन बसेका थिए ।