नेपाली टीमबाटै खेल्छु : सन्दीप लामिछाने

८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले नेपाली टिम नै आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन् ।

सन्दीपले पछिल्लो समय लगातार विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएर पनि विभिन्न कारणले गर्दा खेल्ने अवसर पाएका छैनन् । राष्ट्रिय टिमको समेत खेलहरू नभएका बेला उनले विदेशी लिग पनि खेल्न पाएनन् । अहिले भने सन्दीपका लागि राष्ट्रिय टिम र क्यारेबियन प्रिमियर लिग (सीपीएल) दुवै एकैपटक जुध्दा उनले राष्ट्रिय टिमबाटै खेल्दै छन् ।

बिज्ञापन

‘दुर्भाग्यवस सीपीएल पनि मिस गरें । तैपनि त्यो सबै कुरालाई पछाडि छोडेर राष्ट्रिय टिमको गेम छ । त्यसमा केन्द्रित हुनुपर्छ,’ सन्दीपले भने ।

नेपालले सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा क्रिकेट विश्वकप लिग-२ खेल्दै छ र त्यसअघि सेप्टेम्बर ५ र ८ मा पपुवा न्युगिनीसँग ओडिआई म्याच खेल्दै छ । सीपीएल भने यही अगष्ट २६ देखि सुरु हुँदै छ । जहाँ सन्दीप साविक विजेता ट्रिनबाटो नाइट राइडर्समा अनुबन्ध भएका थिए ।

तर नेपालको राष्ट्रिय टिमको खेल पनि यही समयमा परेपछि सन्दीपले स्वाभाविक रूपमा राष्ट्रिय टिमबाटै खेल्न लागेका हुन् । राष्ट्रिय टिमबाट खेल्दा उनले सीपीएल भने गुमाउने पक्का भएको छ ।