कुनै पनि शक्तिले एमालेलाई एक्लै हेर्न सक्दैनन् : ओली

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई प्युसोको संज्ञा दिएका छन् ।
एमाले छाडेर एकीकृत समाजवादीमा लागेका जनप्रतिनिधि तथा पदाधिकारीलाई उनले बिग्रिएका र माधव नेपालको पिछलग्गु रहेको टिप्पणी गरे ।
नेकपा एमाले कास्कीको बृहत् कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले भने, ‘एउटा अत्यन्तै बेसरम व्यक्तिको नेतृत्वमा अहिले नेकपा एमालेलाई समाप्त पार्ने अभियान चलिरहेको छ ।’ माधव नेपालले एमाले फुटाएर समाजवादी गठन गरेपछि ओलीले उनीहरुसँग राजनीतिको नाममा लोप्पा मात्रै रहेको भन्दै व्यंग्य गरे । समाजवादी पार्टीका तर्फबाट एमालेसँग हुने चुनावी प्रतिष्पर्धालाई उनले उम्रिन नपाएको प्युसोको सपना रहेको बताए ।

उनले भने, ‘कांग्रेस त हामीसँग लड्न आँट गरेको छैन, अब माधव नेपालको प्युसो । उम्रिन पाएको छैन, एमालेसँग मुकाबला गर्ने सपना देख्छ ।’ माधव नेपालले नेकपा समाजवादी पार्टी गठन गरेसँगै गठबन्धन सरकारमा देउसीमा जस्तो पाँच भाइ पुगेको ओलीले टिप्पणी गरे ।
उनले भने, ‘आज देश जागेको छ । देश एउटा शान्तिपूर्ण आन्दोलनमा छ, संघर्षमा छ । एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्वहरु पनि सक्रिय भएर लागेका छन । उनीहरुलाई आपत के छ भने, कुनैपनि शक्तिले एक्लै एमालेतिर हेर्न पनि सक्दैन, लड्ने कुरा छाड्दिउँ ।

त्यसकारण उनीहरुले, देउसी खेल्दा भन्छन नि, चारैदिशा, चारभाई जम्मा भनेजस्तो, कोही पूर्वतिर, कोही पश्चिमतिर, कोही तराइ, कोही कतातिर गरेर पाँचभाई जम्मा, पाँचभाई जम्मा भन्दैथिए । अहिले पाँचभाई नि पुगे क्यार ?’
नेकपा एमालेका कार्यकर्ता देश बनाउन जन्मिएको र देश बनाउने अभिभारा एमालेको रहेको उनको भनाई छ । ‘आज देशले हामी सबैलाई राजनीतिक व्यस्तता दिएको छ । हामी सरकारमा छैनौँ, तर फेरि पनि देश बनाउने अभिभारा हामीसँगै छ ।

हामी त्यसकारणले व्यस्त रहनुपरेको छ,’ उनले भने ।
नेकपा एमालेको विकास प्रेमी भएको दाबी गर्दै ओलीले एमालेको सरकारले विश्वले देख्नेगरी राष्ट्रियताको काम गरेको पनि दाबी गरे । ‘अघिल्लोपटक एमालेको सरकार बन्दा हामीले प्रतिकुल अवस्थामा, भूकम्प र नाकाबन्दीले देश ठप्प हुँदा डटेर नाकाबन्दीको सामना ग¥यौँ । चीनसँग पारवहन सम्झौता ग¥यौँ, पुनर्निर्माणसहित थुप्रै विकासका काम ग¥यौँ,’ ओलीले भने । देशलाई बर्बाद गर्न खोज्ने शक्तिहरु अहिले सक्रिय भएको उल्लेख गर्दै उनले भने, ‘कुनै पनि शक्तिले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् । लड्ने कुरा छाडौँ । त्यही भएर चार दिशाबाट ५ भाइ जम्मा भएका छन् ।’