
काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।



जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ गते खेल्नेछ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ मा खेल्नेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ मा प्रतिस्पर्धा गर्ने छन्।