जतिसुकै ‘सेटिङ’ भएपनि जित जनताकै हुन्छ : प्रचण्ड

काठमाडौँ : सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धिहरुको रक्षाका लागि सबै मिलेर जानुपर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जतिसुकै ‘सेटिङ’ भएपनि मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुने बताका हुन् ।

उनले ६ वटै प्रदेश सरकार गठबन्धनको हातमा आइपुगेको भन्दै यो सानो दु:खले सम्भव नभएको बताए। ‘जनता अहिले पनि यो उपलब्धिको रक्षाका लागि लड्न तयार छन् भन्ने हामीलाई ज्ञान भयो। मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुनेरहेछ। जितसुकै सेटिङ भएपनि,’ उनले भने, ‘६ वटै प्रदेश सरकार गठबन्धनकै हातमा आइपुगेको छ, यो सानो दुखले आएको होइन।’अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरु सलबलाइरहेको भन्दै षड्यन्त्र पूरै नसकिएको बताए।

‘उनीहरुले गर्ने षड्यन्त्र पूरै सकियो अब हामीले जित्यौं भन्ने अवस्था बनिसकेको छैन, षड्यन्त्र अझै भइनै राख्छन्,’ प्रचण्डले भने, ‘यसलाई परास्त गर्न हामी बलियो हुनुपर्छ।’उनले नेकपा माओवादी केही वर्षयता केही सिथिल जस्तो देखिएका कारण प्रतिक्रियावादीहरुले टाउको उठाएको बताए। प्रचण्डले अब माओवादी जाग्ने बताए।