
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि छनोटका लागि आज (सोमबार) निर्वाचन सुरु हुँदै छ। यही मंसिर १५–१७ गतेसम्म काठमाडौंमा हुने आफ्नो महाधिवेशनका लागि राप्रपाले आजदेखि प्रतिनिधि चुन्न लागेको हो।
महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट २९७० प्रतिनिधि छनोटका लागि मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने तालिका रहेको राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनौट गर्नेछ, जसअनुसार ३ खस आर्य (अन्य), ३ महिला, १ जनजाति, १ दलित, १ अल्पसंख्यक, मुस्लिम, थारु लगायत गरी नौ जना निर्वाचित हुनेछन् ।
यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरु पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले बताए। राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुने समेत गरी ४५ सय महाधिवेशन प्रतिनिधि हुनेछन्।