
एजेन्सी । भारतको नियन्त्रणमा रहेको कश्मीरबाट भारत सरकारले संविधानको अनुच्छेद ३७९ खारेज गरेर विशेष राज्यको अधिकार खोसेको छ। योसँगै भारतले कश्मीरलाई दुई टुक्रा बनाएर राष्ट्रपति शासन लगाएको छ।




भारतले कश्मीरमा हजारौँ अर्धसैन्य बल पठाएको छ। र, त्यहाँ संचारका सबै साधनमा प्रतिबन्ध लगाएको छ। कर्फ्यू लगाइएको छ भने त्यहाँका सबै ठूला नेताहरूलाई नजरबन्द र गिरफ्तार गरिएको छ। यी सबै क्रियाकलापको पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ। पाकिस्तानले कश्मीरमा भएको घटनाको जवाफ दिने पनि चेतावनी दिएको छ।

यो भइरहँदा उत्तरी चीनले यो मुद्दामा इन्ट्री गरेको छ। चीनले भारत र पाकिस्तानलाई कश्मीर मुद्दा आपसी छलफलबाट समाधान गर्न चेतावनी दिएको छ।
यो मुद्दामा यसअघी अमेरिकाले पनि भारत र पाकिस्तानबीच मध्यस्तता गराउन आफू तयार रहेको बताइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पटक कश्मीर मुद्दामा आफ्नो धारणा राखेका छन्। उनले यो मुद्दामा आफू मध्यस्तता गराउन तयार रहेको बताएका थिए।
यता चीनले भने भारत र पाकिस्तानको सम्बन्ध सुधार्न अन्तर्राष्ट्रिय समुदायले भूमिका निभाउनुपर्ने बताएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा हुयिङले भने, ‘एक छिमेकीका रूपमा दुवै मुलुक भारत र पाकिस्तानलाई शान्तसँग रहन आग्रह गर्दछौँ। कश्मीर मुद्दा शान्तसँग दुईपक्षीय छलफल गरेर सुल्झाउन्। दक्षिण एसियामा शान्ति र स्थिरता कायम गरिराख्न आग्रह गर्दछौँ।’
यसरी चीनले भारत र पाकिस्तानलाई दक्षिण एसियाको शान्तिमा खलल नपुर्याउन चेतावनी दिएको रूपमा हेरिएको छ।
पूर्वमुख्यमन्त्री मुफ्ती गिरफ्तार
यसैबीच जम्मु कश्मीरकी पूर्वमुख्यमन्त्री महबूबा मुफ्तीलाई गिरफ्तार गरिएको छ। भारतीय अर्ध सैन्य बलले मुफ्तीलाई सोमबार साँझ गिरफ्तार गरेकोबीबीसीले लेखेको छ।
मुफ्फीले भारत सरकारको कदमलाई भारतीय लोकतन्त्रको इतिहासमा सबैभन्दा कालो दिन भनेकी थिइन्। उनले विगत केही दिनयता भारत सरकार विरुद्ध अन्य दलहरूलाई एकजुट गर्दै आएकी थिइन्। उनले आगामी दिनमा आन्दोलन गर्ने आशंकामा गिरफ्तार गरिएको भारतीय संचार माध्यमले लेखेका छन्।
मुफ्तीलाई श्रीनगरको हरि निवास गेस्ट हाउसमा हिरासतमा राखिएको बताइएको छ।