
काठमाडौं– पछिल्लो समय नेपालमा राजस्व छलीका घटनाहरुमा व्यापक बढोत्तरी भएको छ । सुनदेखी कपडासम्मका बस्तुहरु कर छलेर नेपाल भित्राईन थालिएपछी प्रहरी पनी सक्रिय भएको छ ।
आज मात्रै काठमाडौं प्रहरीले दक्षिणकाली नगरपालिका वडा नं.५ फर्पिङबाट बिल बिनाको करीब १३ किलो चाँदीका गहना सहित एक जनालाई पक्राउ गरेको छ ।
बारा जिल्लाको कलैयाबाट टाटा सुमो चढी काठमाडौंतर्फ आउँदै गरेका बारा जिल्लाकै सिम्रौनगढ नगरपालिका वडा नं.८ कचोर्वाका रामाशंकर साह पक्रउ परेका हुन् ।
कलैयाबाट चाँदी बोकी ना १ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा काठमाडौ आउँदै गरेका साहलाई बिशेष सुचनाको आधारमा फर्पिङ चेकपोष्टमा तैनाथ प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।
साहको सरसमान चेक गर्दा बिल बिजक बिनाको त्यति मात्रामा चाँदी बरामद भएको प्रहरीले जनाएको हो ।
पक्राउ परेका साहलाई नियन्त्रणमा लिई उक्त चाँदी के कस्तो हो र कहाँबाट लिएर कहाँ पुर्याउन लागेको हो भन्ने कुरा लगायत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।