विश्वकप लिग-२ : ओमानको सामना गर्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ। अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ।

ओमानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजाको योजनामा रहेको छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको पक्षमा रहनेछ। ओमान नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । तर, पछिल्लो चार भेटमा नेपालले ओमानलाई एक पटक मात्र हराएको छ। लिग-२ अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो।

त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो । लिग-२ मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ ।