गिरिजाप्रसाद कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ: मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । शनिवार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् ।उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए । उनले भने, ‘अब एउटा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक छ । विभिन्न नेताहरूको नाममा छन् । तर जीपी कोइराला एउटा मान्यता हो । एउटा आदर्श, मूल्य,मान्यताको प्रतीक पनि हो । त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ ।

व्यक्तिगत रूपमा म आफू पनि सहयोग गर्छु । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकार जसमा पनि मन्त्रीमण्डलको सदस्य थिएँ । त्यसबेला हामीले पहिलो विश्व विद्यालय काठमाडौँ विश्व विद्यालय खोलेका हौँ । त्यसपछिको एउटै उद्देश्य थियो, शिक्षामा अब प्रतिस्पर्धा आवश्यक छ । शिक्षा क्षेत्रको प्रतिस्पर्धाका कारणले आज इन्जिनियरिङ र मेडिकल कलेज कति वटा छन् । व्यवस्थापनका क्षेत्रमा एक सय एक प्रतिस्पर्धा छ । यो नीति नेपाली काँग्रेसको थियो । हामीले बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा रिजल्टमा देखाइरहेका छन् । त्यसैले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट आदर्श र उद्देश्य राखेर हामीले स्थापना गर्ने विश्व विद्यालय अवश्य पनि हामी सबैका निमित्त गौरवको विषय हुन्छ ।’मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जी.पी. कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए

बिज्ञापन