
बैतडी । बैतडीको पाटन नगरपालिका वडा न.१०को नव निर्मित वडा कार्यालय भवन वडाअध्यक्षले बुझ्न मानेका छैनन् । भवन निर्माण सम्पन्न भएपछि निर्माण व्यवसायीले वडालाई हस्तान्तरण गर्न खोज्दा वडाअध्यक्ष धनबहादुर कुँवरले उक्त भवन बुझ्न अस्विकार गरेका हुन् ।
निर्वतमान वडा पदाधिकारीहरुले आफ्नो कार्यकालमा भवन बनेको भन्दै शिलालेख राखेका कारण नवनिर्वाचित अध्यक्षले बुझ्न नमानेको भवन निर्माण कम्पनी एसके निर्माण सेवाले जनाएको छ । एसके निर्माण सेवाका प्रबन्धक मदनमोहन बिष्टले भने, ‘भवनको काम सम्पन्न भएको एक महिना भैसक्यो । पूर्व वडाअध्यक्षले आफ्नो नामको शिलालेख लगाएका कारण वर्तमान वडाअध्यक्षले बुझ्न मान्दैनन् ।’भवनका कोठाहरूको चाबी खल्तीमा राखेर हिँडेको तर नयाँ वडा अध्यक्षले शिलालेख हटाए मात्रै भवन बुझ्ने भन्ने गरेको विष्टको गुनासो छ ।
निर्वतमान वडाअध्यक्ष देवेन्द्र कुँवरले आफ्नो कार्यकालमै भवन निर्माण भएको भनेर शिलालेख लागाएको बताए । उनले भने, ‘तर भवन उद्घाटनको शिलालेख लगाएका छैनौँ । हामीले भवन बनाएका हौँ भन्न नमिल्ने हुँदैन् । हाम्रै पहलमा भवन बनेको हो । हामीले बजेट हाल्न पहल गरेका हौँ । त्यसैले वडा पदाधिकारी र कर्मचारीहरूको संयुक्त बैठकबाट निर्णय गरेर शिलालेख लगाएका हौँ । वर्तमान वडा पदाधिकारीहरूले उद्घाटनको शिलालेख लगाउन सक्नुहुन्छ ।’
वडा भवन बुझ्न नमानेका नवनिर्वाचित वडा अध्यक्ष धनबहादुर कुवरले भने निर्माणाधीन भवनमा शिलालेख लगाउनु गलत भएको बताए । उनले भने, ‘निर्माण सम्पन्न नभइसकेको भवनमा आफ्नो नामको शिलालेख लगाउन मिल्छ की मिल्दैन् । यस्को पुष्टि हुनुपर्छ त्यसपछि मात्रै हामी भवन बुझ्छौँ ।’
निर्वतमान वडाअध्यक्ष कुँवरले भने भवन निर्माण भई रंगरोगन भैसकेको अवस्थामा आफूहरूले शिलालेख लगाएको बताए । समस्यामा परेका निर्माण व्यवसायीले भने दुई वटा शिलालेख राख्न सक्ने ठाउँ बनाइदिएका छन् ।
वडा कार्यालय भवन ६४ लाख लागतमा निर्माण सम्पन्न भएको हो । शिलालेख लगाउने निर्वतमान वडाअध्यक्ष देवेन्द्र कुँवर शिलालेखका कारण भवन बुझ्न नमान्ने वर्तमान वडाअध्यक्ष धनबहादुर कुँवर ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावका प्रतिस्पर्धी हुन् ।