
काठमाडौं । निर्वाचन आयोगले गरेको अनियमितताको विषय प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको छ। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मीना सुब्बाले आयोगले ल्यापटप तथा छपाई मेसिन खरिद गरेर कामै नगरी अलपत्र पारेको विषय उठाएकी हुन्।

पछिल्लो समय चौतर्फी आर्थिक अनियमितता भइरहेको बताउँदै सांसद सुब्बाले निर्वाचन आयोगले किनेको करोडौँको सामान प्रयोगविहीन भएको जानकारी गराइन्। महालेखा परीक्षकको कार्यालयका अनुसार निर्वाचन आयोगले किनेको ५ सय ८१ वटा ल्यापटप अहिले प्रयोगविहीन अवस्थामा रहेको उनले बताइन्।



सांसद सुब्बाले भनिन– ‘आयोगले खरिद गरेको ६ सय ५९ वटा ल्यापटपको मूल्य खुलाइएको छैन। मूल्य नखुलाएको मध्ये ५ सय ८१ वटा थन्काइएको छ। आयोगले २०७४ सालमा १० करोड ४० लाख डिजिटल कलर प्रिन्टर किनेको थियो।

साथै ११ करोड २८ लाखमा किनेको प्रिन्टरसहित कुल २१ करोड ८३ लाख ४० हजारमा अत्याधुनिक छपाई मेसिन खरिद गरिएको थियो। ती सबै हाल प्रयोगविहीन अवस्थामा छन्।’ सो को छानविन गर्न सांसद सुब्बाले माग गरेकी छन्।