
काठमाडौं । नेकपा एमालेले विभिन्न पार्टी र समूहबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि विशेष निर्णय गरेको छ । त्यसको कार्यविधी नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरुको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ ।

स्थायी कमिटीको मंगलबार बसेको बैठकले पार्टी प्रवेश गरेकाहरुको व्यवस्थापन गर्ने र प्रवेशको लहरलाई निरन्तरता दिँदै उनीहरुलाई उपयुक्त जिम्मेवारी दिन आवश्यक निर्णय गरिएको बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।



उनले नवप्रवेशीहरुलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा मनोयन गर्न र समस्या भएमा माथिल्लो किमटीसँग समन्वय गर्न भनिएको बताए । बैठकले पछिल्लो समय विभिन्न दलबाट प्रवेश गरेका केन्द्रीयस्तरका नेताहरुलाई सल्लाहकार र केन्द्रीय कमिटीमा गरेको मनोनयन अनुमोदन गरेको छ ।

जसअनुसार केन्द्रीय सल्लाहकार परिषदमा काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बागलुङका नवराज पौडेल छन् । शाक्य र नेपाली जसपाबाट र पौडेल कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् ।
त्यस्तै माओवादीबाट प्रवेश गरेका जीवन गौतम, कांग्रेसबाट प्रवेश गरेका अमृत राजवंशी र सांसद बृजेश गुप्तालाई केन्द्रीय सदस्यमा गरिएको मनोनयन पनि बैठकले अनुमोदन गरेको छ ।