
भाद्र ७, झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दुहरुको महान चाड तिजले राष्ट्रवादी शक्तिहरुको विजय हुने सन्देश लिएर आएको बताएका छन् । प्रजातान्त्रिक महिला संगठन झापा जिल्ला समितिद्वारा दमकको पशुपति मन्दिरमा मंगलबार आयोजित तिज विषेश कार्यक्रम तथा प्रजातान्त्रिक महिला संगठनको झापा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यसो भनेका हुन् ।

उनले यो पटकको तिज पर्वले परिवर्तनको सन्देश लिएर आएको बताएका छन्। परिवर्तन हाम्रै पालोमा सम्भव छ भन्दै आगामी मंसिर ४ गते नेपाली जनताले परिवर्तनकारी शक्तिहरुलाई विजयी गराउने विश्वास व्यक्त गरे ।



‘देशमा भएका हरेक परिवर्तनको पछाडी महिलाहरूकै हात रहेको पाइन्छ।’, अध्यक्ष लिङ्देनले भनेका छन् ।

मंसिर ४ को निर्वाचन पछी भ्रस्टाचारीहरु सबै पाखा लाग्ने समेत उनले दोहोर्याए। अब भ्रष्ट चरीत्र भएका व्यक्तिहरुको अन्त्यको दिन आएको भन्दै उनले आह्वान गरे- ‘परिवर्तनको पक्षमा मतदान गर्नुहोस्।’
महिलाहरु देशको परिवर्तनकारी शक्ति भएको उल्लेख गर्दै सनातन देखि चलिआएको तिज पर्वले नेपाली समाजमा छुट्टै छाप छोड्न सफल भएको उल्लेख गरे । हरेक धर्मका आआफ्नै बिशेषता रहेको उल्लेख गर्दै धार्मिक मूल्य र मान्यताको जग बलियो भएमात्र समाज बलियो हुने भन्दै हिन्दुहरुको महान चाड तिज पर्वले समग्र महिलाहरुलाई एकताको सुत्रमा बाध्न सफल भएको बताए।अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपालाई बलियो शक्तिको रूपमा उदाउने र पार्टीलाई सफलता दिलाउनको लागि महिलाहरुले उल्लेखनीय भुमिका खेल्न सक्नुपर्ने बताए।
‘मलाई थाहा छ तपाईं महिला दिदी बहिनीहरु पार्टीमा दत्तचित्त भएर लाग्नुभएको छ, घरको सबै काम भ्याएर पनि पार्टीलाई समय दिन सक्नु भएको छ । तपाईंहरुको महानताले गर्दानै आजसम्म पार्टीले जिवन्तता पाएको छ, महिला दिदिबहिनीहरु प्रती पार्टी सदैव आभारी रहने छ।’, लिङ्देनले भने ।
राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन केन्द्रिय अध्यक्ष अन्जना रावल, केन्द्रिय सदस्य द्व्य अम्बर विष्ट र लक्ष्मी प्रसाद संग्रौला, महिला नेत्री रन्जु प्याकुरेल, राप्रपा मेची नगर अध्यक्ष सविना बजगाई, समाजसेवी व्यक्ति डा. सुर्यनारायण साह लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
उक्त अवसरमा दर खाएर नाचगान गर्दै हर्सोल्लासका साथ तिज पर्व मनाइएको थियो।कार्यक्रममा महिला नेत्री सारदा रिजालको अध्यक्षतामा झापा जिल्ला कार्य समिति घोषणा गरिएको छ ।