
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले देश आफ्नो पार्टीकै वरिपरि रहेको दाबी गरेका छन्। सोमबार बिहान गृहजिल्ला चितवनकाे टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री जोसुकै भए पनि, राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरि छ।’

‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई प्रचण्डले ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ बताए ।



माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउने षडयन्त्र भएपछि सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गराएको प्रचण्डले बताए । उनले जनताको बलमा नै प्रतिनिधिसभा पुनस्थार्पना भएको दाबी गरे ।

‘प्रतिक्रियावादीलाई बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पर्याउने काम जनताले गरेको प्रचण्डले बताए । उनले जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको बताउँदै अगाडि भने, ‘हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ ।’