
नेपालस्थित भारतीय दूतावासले आज विभिन्न कार्यक्रम गरी आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको सो कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यानसहितको साधारण योग विधि प्रस्तुत गरिएको थियो ।दूतावासले जारी गरेको विज्ञप्ति अनुसार योगमा अभिरुचि भएका करिब ६०० जनाले सो योग कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दुवैलाई सकारात्मक उर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने बताए ।

सोही कार्यक्रममा सञ्चार तथ सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स्वस्थ्य जीवनका लागि सबैले नियमित योग गर्नुपर्ने सुझाव दिए । यस वर्षको योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको छ । योग दिवसको पूर्वसन्ध्यामा दूतावासले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको आयोजना गरेको थियो । भारतीय राजदूतावास, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका योग गुरुहरूले महिला तथा बालबालिकाका लागि विशेष योग कार्यक्रम विश्व सम्पदामा सूचीकृत काठमाडौंको बौद्घनाथ स्तूपमा आयोजना गरेको थियो । सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात् सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।



