
कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको दाबी गरेका छन् ।प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एस र माओवादीलाई लक्षित गर्दै उनले नेपाली कांग्रेसको साथ लागेकाहरू कम्युनिष्ट नभएको जिकिर गरे ।गठबन्धन सरकार पूर्णरूपमा असफल भएको पोखरेलको भनाइ छ । `एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको छ । अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ´, उनले भने ।

करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको समेत उनले औंल्याए । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको पोखरेलको भनाइ थियो ।‘प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छनबिन गरी कारबाही गर्नुपर्छ कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन्’, उनले थपे ।स्थानीय तहको निर्वाचनमा पूर्णरूपमा घेराबन्दी गरेर एमाले सक्ने रणनीति पाँच दलको भएपनि त्यो असफल भएको उनले बताए । आगामी निर्वाचनमा एमालेले अझ राम्रो नतिजा ल्याउने पोखरेलको विश्वास छ ।



‘सरकार असफल छ त्यसको विरुद्धमा हामी चुनावमा जान्छौं । नेकपा एमालेलाई बलियो शक्तिको रूपमा स्थापित गरेर अघि बढ्छौं । आउने निर्वाचनमा बहुमत ल्याउँछौं’, उनले भने ।स्थानीय आवश्यकताको आधारमा तालमेल हुनसक्ने भन्दै महासचिव पोखरेलले नीतिगत नेतृत्व छोडेर भने तालमेल हुन नसक्ने बताए ।
