सन्दीप लामिछानेले प्रति विकेट बराबर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ८,८४८ रुपैयाँ सहयोग गर्ने घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले प्रति विकेट सगरमाथाको उचाई बराबर क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन्। अमेरिका र ओमानविरुद्धको खेलमा आफूले लिने हरेक विकेट बराबर चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ८,८४८ रुपैयाँ सहयोग गर्ने घोषाणा गरेका हुन्।

 

सन्दीपले आइतबार सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत यस्तो घोषणा गरेका हुन्।  यही माघ २२ देखि २९ गतेसम्म विश्व क्रिकेट लिग डिभिजन–२ अन्तरगत नेपाल, अमेरिका र ओमानबीच काठमाडौंमा त्रिकोणात्मक श्रृंखलामा हुँदैछ । यसै प्रतियोगितामा उनले लिने हरेक विकेटमा यस्तो सहयोग गर्न लागेका हुन्।

 

‘नेपाल क्रिकेटका लागि एक सपना छ । एक सपना, जहाँ हाम्रा प्रतिभाशाली नयाँ पुस्ताले हाम्रो विशाल सगरमाथाको उचाईभन्दा माथि जाने नतिजा निकाल्नेछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यही सपना पूरा गर्न मैले अमेरिका र ओमानविरुद्ध लिने हरेक विकेटमा ८,८४८ रुपैयाँ दान गर्ने घोषणा गर्दै पहिलो कदम चाल्न चाहन्छु।’

 

सन्दीपले गर्ने सबै दान बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई जाने बताउँदै उनले सबैलाई सहयोग र समर्थन गर्न आग्रह गरेका छन्। उनले धेरै भन्दा धेरै विकेट लिने अपेक्षा  गर्न समर्थकलाई आग्रह गरेका छन्।