खेल प्रतियोगिताहरु स्थगित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय खेलकदु परिषद् (राखेप)ले खेल प्रतियोगिताहरु रोक्ने तयारी गरेको छ ।

 

बिज्ञापन

कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले सभा, सभारोह तथा धेरै मानिसहरुको जमघट हुने कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । तर मोफसलमा नकआउट फुटबल प्रतियोगिता भइरहेका छन् भने अरु खेलका पनि ठूलो प्रतियोगिता हुँदैछ ।

 

खेल प्रतियोगिताहरु के गर्ने भन्ने छलफल भइरहेको राखेप सदस्य सचिव रमेश सिलवालले बताए । उनले  भने, ‘अहिले भइरहेका खेलहरुलाई रोक्न गाह्रो होला तर अब हुने प्रतियोगिता स्थगित गर्ने तयारी छ ।’

 

यसबारे राखेपले बिहीबार साँझसम्ममा निर्णय लिने उनले बताए ।

 

यदि राखेपले खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएमा चैत १ गतेबाट हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट समेत प्रभावित हुनेछ ।

 

विश्वकप छनोटका खेलहरुबारे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)सँग छलफल गरेर निर्णय लिने सदस्य सचिव सिलवालले जानकारी दिए । नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा खैल्ने तालिका छ । तर अष्ट्रेलियाले खेल सार्न एएफसीमा निवेदन दिएको बताइएको छ ।