साउदी अरेबियामा अनिश्चितकाल कर्फ्यु

काठमाडौं : साउदी अरेबियाले मुलुकभर लगाइएको कर्फ्यु अनिश्चितकालसम्मका लागि बढाएको छ ।

 

बिज्ञापन

अल जा जीराका अनुसार कोरोनाभाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।

 

साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म लगाइएको २१ दिने कर्फ्यु बढाउने निर्देशन दिएका हुन् ।

 

गत साता साउदीले रियादलगायत अन्य सहरमा २४ घण्टा नै कर्फ्युको घोषणा गरिएको हो । यी सहरमा मानिसहरुलाई अत्यावश्यक सामग्रीका लागि बिहान छ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर निस्किन दिइएको छ ।

 

शनिबार साउदीको आन्तरिक मन्त्रालयले यसअघि लागू गरिएको सबै नियम अर्को सूचना नआउँदासम्म जारी रहने तथा मुलुकका १३ वटा प्रान्तको आवतजावतमा भने रोक लगाइने बताएको छ ।

 

कोरोनाका कारण साउदी अरेबियामा ४ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ ।