
काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतमा पास गरे ‘नोटअफ डिसेन्ट’ लेख्ने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार विहान ९ बजे बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका लागि सरकार पक्षलाई आग्रह गरिने र पेलेरै अघि बढ्न खोजे ‘नोट अफ डिसेन्ट’ लेख्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले भने, ‘पदाधिकारी बैठकले पहिले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिका लागि प्रयत्न गर्न भनेको छ । नेकपाले बहुमतका बलमा पास गर्न हो भने राज्य व्यवस्था तथा सुशासन समिति रहेका हाम्रा सदस्यहरुलाई पार्टीको निर्णय अनुसार ‘नोट अफ डिसेन्ट’ लेख्नु हुन्छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सो प्रावधानसहितको विधेयक निणार्यर्थ प्रस्तुत गरेमा समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले फरक मत राखेर असहमति जनाउने निर्णय लिएको हो । समितिको बैठक आजै दुई बजे बोलाईएको छ ।
‘नागरिकलाई लिएर सत्तारुढ दलले गरेको निर्णय नागरिकले पाइरहेको संवैधानिक, सामाजकि, सांस्कृतिक अधिकारको विरुद्ध छ । यसलाई जबर्जस्ती पास गर्न खोजिए कांग्रेसले फरक मत राख्छ,’ बैठकपछि कांग्रेस उपसभापति बिमलेन्द्र निधीले भने ।
कांग्रेस नेताहरुले दिइसकेको अधिकारबाट नागरिकलाई बञ्चित गर्दा सामाजिकरुमपा द्वन्द्व बढ्ने निष्कर्षसमेत निकालेका छन् । राष्ट्रिय सहमतिका आधारमा अन्तरिम संविधान जारी भएको र त्यसकै आधारमा नागरिकता ऐन २०६३ आएको पृष्ठभूमि उल्लेख गर्दै लैगिंक विभेद बढाएर सामाजिक रुपमा द्वन्द्व बढाउने काम नगर्न सत्तारुढ दललाई आग्रह समेत गरेको छ ।
नेकपा सचिवालयको शनिबारको बैठकले समितिले प्रस्ताव गरेअनुसारकै विधेयकलाई अघि बढाउने निर्णय लिएको थियो । सत्तारुढ दलको निर्णयपछि आजै बस्ने समितिको बैठकले नागरिकता विधेयक मतदानको प्रकृयाबाट निर्णय लिने संभावना बढेको छ । समितिमा सत्तारुढ दलकै सांसदको बहुमत रहेकाले सहजै पारित हुने अवस्था भए पनि कांग्रेसले फरक मत लेखेर विरोध जनाउने निर्णय लिएको हो ।
अर्को विपक्षी दल जनता समाजवादीले पनि उक्त विधेयकको विरोध गर्दै आएको छ । समितिमा उक्त पार्टीले पनि फरक मत राख्ने तयारी गरेको छ ।