बाढीले भारतको आसाममा ७६ जनाको मृत्यु, ५४ लाख प्रभावित

काठमाडौंः भारतको आसाम राज्यमा आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेका अधिकारीहरुले जनाएका छन् ।

आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले आज (शनिबार) दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ लाख ९९ हजार १७ जना प्रभावित भएका हुन् ।

प्रभावित भएकाहरुका लागि ५५२ ओटा शिविरहरु स्थापना गरिएको छ । झण्डै साढे २ लाख हेक्टर जमिनमा लगाइएको कृषिजन्य पदार्थ पनि नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण झण्डै ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका बताइएको छ ।