
झापा : राष्ट्र, राष्ट्रियता र राजतन्त्र सहितको हिन्दु राष्ट्रको एजेन्डा बोकेर हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त ) विच पार्टी एकता भएको छ । दुई दलको एकता संगै जिल्ला र स्थानीय तहमा समेत धमाधम एकिकरण कार्य अगाडी बढेको छ ।

विभिन्न जिल्लामा भएको एकीकरण कार्य संगै झापामा समेत नयाँ कार्यसमित घोषणा गरिएको छ । पार्टीको स्थापना देखिनै आफुलाइ निरन्तर कृयाशिल राख्दै हरेक परिस्थितिमा अटल र अविचलित हुँदै पार्टीलाई जीवन्त राख्ने भुमिकामा निरन्तर संघर्षरत नाम हो ‘अम्बर बिष्ट’ । लामो समय देखि पार्टीको जिल्ला नेतृत्वमा रहनु भएका बिष्टको काधमा एकीकरण पश्चात पुनः जिल्ला अध्यक्षको जिम्मेवारी आएको छ ।




प्रस्तुत छ पार्टीको आगामी रणनीति र वर्तमान राजनीतिक अवस्था बारे पत्रकार सान नेपालले वहाँ संग गर्नुभएको कुराकानीको संपादित अंश:
एकीकरण किन आवश्यक थियो?
नेपालका राजनीतिक दलहरू बाहिर बाट हेर्दा ठुलो पार्टी जस्ता देखिएता पनि भित्री रूपमा विभिन्न गुट र उपगुटमा बिभाजित छन् । यहि कारणले ठुला भनिएका राजनीतिक दलहरूले जनविश्वास गुमाउँदै गएका छन् । हामी एक ठाउँमा रहदा जनमत राम्रो थियो । सैद्धान्तिक रूपमा हामी विच कुनै मतभेद नै थिएन । मात्र एक दुई वटा कुरामा गम्भीर बहसको जरुरत थियो । त्यो पूरा भएको छ र हामीले एकीकरणको महत्त्वपूर्ण सफलता हासिल गरि सकेको छौँ । राष्ट्र र राष्ट्रियता र राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्ने महान अभियानमा एकीकरणले महत्त्वपूर्ण भुमिका राख्ने कुरामा दुईमत रहन सक्दैन ।
के एकीकरण टिक्ला त ?
सैद्धान्तिक रूपमा हामी बिच कुनै विचलन छैन । राष्ट्र, राष्ट्रियता र राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्ने महान अभियानमा हामी अगाडि बढी सकेका छौँ । अब कुनै पनि बहानामा हामीमा विचलन आउने छैन । लामो बहस र छलफल पछी पार्टी एकीकरणको मुद्दा किनारा लागेको हुनाले पनि एकीकरण माथि शंका गर्नु उपयुुक्त रहदैन भन्ने बुझौं ।
तपाईंहरुलाई संघीयता बिरोधि भनिन्छ नी?
भौगोलिक रूपमा नेपाल सानो मुलुक हो । श्री ५ बडा महाराज पृथ्वीनारायण शाहले टुक्राटुक्रा राज्यलाई जोडेर सिंगो मुलुक बनाइ बक्सेको हो । चार जात छत्तीस वर्णको फुलबारी नै हाम्रो पहिचान हो । कसैको क्षणिक राजनीतिक स्वार्थ पूरा गर्न मुलुकलाई संघीयताको अभ्यासमा लगियो तर यो धेरै टिक्ने वाला छैन भन्ने घाम झैँ छर्लङ्ग छ । नेकपा र नेपाली कांग्रेसका साथीहरुले बेलै मा बुझ्नु जरुरी छ । संघीयताले मुलुक बर्बाद हुने कुरामा त सत्तामा रहेको दल र प्रमुख प्रतिपक्षीको व्यवहारले नै देखाइ सकेको छ ।
संघीयताले मुलुक बर्बाद हुन्छ भन्ने आधार चाहिँ के छ ?
धेरै आधार छ्न नी । तपाईं हेर्नुहोस् न । विकेन्द्रीकरणको नितिलाई हामीले कहिल्यै बिरोध गरेको होइन । तिन तहको सरकारको व्यवहारिक जटिलता छ भनेर हाम्रो पार्टीले संविधान लेख्ने समयमै भनेको हो । अहिले ठ्याक्कै त्यही भएको छ । केन्द्र सरकार आफैं प्रदेश सरकारलाई कमजोर बनाउने खेलमा लागेको छ । प्रदेश सरकारले स्थानीय तह लाई नियन्त्रण गर्न सक्ने कुनै आधार छैन । राज्यले धान्नै नसक्ने गरिको प्रदेशहरु किन चाहियो ? संघले सिधै स्थानीय तह संग मिलेर काम गर्दा भइ हाल्छ नी ? म त भन्छु प्रदेशको खारेजीको बारेमा व्यापक बहस हुनु जरुरी छ ।
बृहत प्रजातान्त्रिक मोर्चा बनाउने चर्चा छ, के सम्भव होला यो मोर्चा ?
सम्भव नहुने कुरा संसारमा केहि छैन । पछिल्लो समय दुई तिहाईको म्यान्डेट पाएको नाममा भ्रस्टाचार र अनियमितताले जरा गाडेको छ । सरकारमा बस्नेहरूले खुलेआम भ्रष्टाचारलाई प्रश्रय दिइरहेका छन् । जतासुकै अनियमितता र लुटतन्त्र मौलाएको छ । यो समयमा सैद्धान्तिक रूपमा नजीक रहेका शक्ति बिच मोर्चावन्दीको आवश्यकता महसुस हुन थालेको हो । हाम्रो पार्टी अध्यक्षले बृहत प्रजातान्त्रिक मोर्चाको लागि अपिल गरिसक्नु भएको छ । यस बिषयमा गम्भीर बहस होला भन्ने आशा एवम् विश्वास गरौं ।
के एकीकरण हुँदैमा तपाईंहरुलाइ जनताले विश्वास गर्लान् ?
त्यो मैले भनी राख्नु पर्ने विषय नै होइन । देशको अस्मिता माथि चौतर्फी प्रहार शुरु भएको छ । मित्रराष्ट्रहरु संगको सम्बन्धमा प्रश्नै प्रश्न खडा भएका छन् । चेलीबेटीहरु दिउसै बलात्कृत छन् । हत्या हिंसा बढेको बढेकै छ । लोकतान्त्रिक पद्धति भन्दा पन्चायती प्रजातान्त्रिक अभ्यास कैयौं गुणा राम्रो थियो भन्ने सबैले बुझिसकेको अवस्था छ । यो देश राजाहरुले बचाएर राखिदिएका हुन् । आज तिनै राजाहरुलाई गलत भन्नेहरु नै सत्ताको भोग बिलासमा मस्त छन् । न देशको चिन्ता छ न त छिमेकी प्रतीको व्यवहार नै राम्रो छ । ठुला दल भनाउदाहरुको अभिमान र दम्भ कै कारण २०१७ सालमा राजा महेन्द्रले पन्चायती प्रजातन्त्रको सुरुवात गर्नु परेको थियो । आज पनि अवस्था उहि छ । पन्चायतकालमा जति बिकास भएको थियो अहिलेको सरकार चलाउनेहरु त्यसैको ब्याज खाएर मोटाएका छन् । यो सबै कुरा नेपाली जनतालाई राम्रोसँग थाहा छ । १० हजार निर्दोष मानिसको निर्मम हत्या गरेर जबर्जस्ती लादिएको पद्धति बाट अब आशा गर्ने कुरै के छ र ? मलाई पुर्ण विश्वास छ, अवको निर्वाचनमा नेपाली जनताले राष्ट्र, राष्ट्रियता र सुशासनको पक्षमा मतदान गर्नेछन् र यो देशलाई फिजिकरण हुन बाट बचाउने छन् ।
तपाईंले राप्रपा बलियो शक्तिको रूपमा स्थापित हुन्छ भन्नुभयो, तपाईहरुको पार्टी छोडेर जानेहरूको संख्या पनि उच्च छ भन्ने गरिन्छ । पार्टी बाट पलायन हुने क्रमलाई निस्तेज पार्ने तपाईहरु संग नयाँ मिसन के छ ?
बहुदलीय व्यवस्थामा पार्टी बाट व्यक्ति पलायन हुनु स्वाभाविक हो । पार्टीमा छोडेर दुई चार जना गए होलान् । त्यो वहाँहरुको अधिकार को कुरा पनि हो यद्यपि राप्रपा छोड्ने भन्दा पनि यस पार्टीमा आउनेहरुको संख्या बढेको बढेकै छ । यो विषयमा मैले खासै जिकिर गरिराख्नु पर्ला जस्तो पनि लाग्दैन । हजारौंले अन्य पार्टी परित्याग गरेर हाम्रो पार्टीमा आएको कुरा त सञ्चार माध्यमले प्राथमिकता साथ छापिरहेका पनि छन् नी होइन र ? हामीले बोकेको एजेन्डा राष्ट्र र राष्ट्रियताको पक्षमा छन् । यहाँ भन्दा ठूलो मिसन अरु के नै हुन सक्ला र ?
रेलको सुरुवात भयो, पानी जहाज कुद्न थाले, देशको बिकास त तीब्र गतिमा भएको छ होइन र ?
खोइ बिकास ? के लाई भन्ने बिकास ? ७% भन्दा माथी पुग्न लागेको आर्थिक वृद्धिदर आज २% मा झर्ने अर्थबिदहरुले बताउन थालिसकेका छन् । कोरोनाको नाममा लुटपाट र आतंक मच्चाइएको छ । देशको शैक्षिक अवस्थाको दुर्दशा अकल्पनीय छ । स्वास्थ्य क्षेत्रलाई तहसनहस पारिएको छ । युवाहरूलाई बिदेश जान बाध्य पारिएको छ । बेरोजगारको अवस्था भयावह छ । बजारमा कहि कतै अनुगमन छैन । बिकास भनेको अनुभव गर्ने कुरा हो, दृश्यमा प्रत्यक्ष देखिने कुरा हो बिकास । पन्चायत कालमा बनाइएका ग्रामीण सडकहरुमा कनिका छरे जस्तो गिटी बालुवा छरेर बिकास हुन्छ ? दिगो बिकास भनेको के हो थाहा छ सरकार चलाउने लाई ?
तपाईंहरु पनि त बारम्बार सरकारमा जानू भएकै हो नी ? जिम्मेवारी त तपाईंहरुको पनि छ होइन र ?
हो तपाईंले सहि कुरा गर्नु भयो । हामी सरकारमा गयौं । तर हामी सरकारमा गएको बेला जथाभावी लुट्न छुट दिएका थिएनौं । चोर डाका र बदमाश लाई जेलमा हाल्नु पर्छ भनेका थियौं । भ्रष्टाचार नियन्त्रण गर्नु पर्छ भनेका थियौ । प्रधानमन्त्रीले न्यायलय, अख्तियार, लोकसेवा आयोग, आदि निकायलाई निकम्मा वनाउनु पर्छ कहिल्यै भनेनौ । तर आज हेर्नुहोस् देशको अवस्था के छ ? शान्ति र अमयनचयन कस्तो छ ? जनता आफ्नै घरमा असुरक्षित छन् । के यहि थियो १७ हजारको हत्या गर्नुको उद्देश्य ?
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
नजिकै आउदै गरेको विजयादशमी, शुभ दिपावली तथा छैट पर्वको उपलक्ष्यमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदि बहिनिहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मुलुकमा व्याप्त भ्रष्टाचार र कोरोना महामारीले सिथिल पारेको अवस्थाले मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको परिस्थिति अत्यन्तै दु:खद छ । यस लोकप्रिय सञ्चार माध्यम मार्फत बिचार व्यक्त गर्ने मौका दिनु भएकोमा आभार प्रकट गर्दछु ।