
भारतका पूर्व गृहमन्त्री एवं बिहारका पूर्व राज्यपाल बुटा सिंहको निधन भएको छ । शनिबार सिंहको दिल्लीमा ८६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कांग्रेस आइका नेता सिंह ८ पटकसम्म लोकसभा सदस्य बनेका थिए । उनी शिख समुदायको ठूला नेता समेत थिए ।

उनको आजै अन्तिम संस्कार गरिने परिवारिक स्रोतले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सन् १९३४ मा जालन्धर जिल्लामा जन्मिएका उनी भारतको केन्द्रीय राजनीतिका शीर्ष नेतामध्येका एक हुन् । उनी केन्द्रीय गृह, रेल, कृषि, खेल मन्त्रीसमेत बनेका थिए । भारतका प्रधानममन्त्री नरेन्द्र मोदीले सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘बुटा सिंह एक अनुभवी प्रशासकको साथसाथै गरिब र दलितको हितको लागि प्रभावकारी आवाज थिए ।



उसको मृत्युबाट दुःखी छु । उनको परिवार र समर्थकहरुप्रति मेरो संवेदना’, मोदीले ट्विटमा लेखेका छन् । कांग्रेस नेता राहुल गान्धीले पनि सिंहको मृत्युमा शोक व्यक्त गरेका छन् । राहुलले भनेका छन्, ‘सरदार बुटा सिंहको मृत्युसँगै देशले एक सच्चा जनसेवक र एक निष्ठावान नेता गुमाएको छ ।

उनले आफ्नो सम्पूर्ण जीवन देश सेवा र जनताको हितका लागि समर्पित गरे । जसका लागि उनलाई सँधै सम्झना गरिनेछ । यस दुखद् घडीमा उसको परिवारका सदस्यहरूप्रति मेरो समवेदना ।’