
एजेन्सी । ‘न्यू इयर इभ’ पार्टी मनाउन गएकी एक एयर होस्टेसको सामूहिक बलात्कारका कारण मृत्यु भएको छ ।
फिलिपिन्सकी यी एयर होस्टेसलाई पार्टीकै क्रममा सामूहिक बलात्कार गरिएको र सोही कारण उनको मृत्यु भएको रिपोर्टमा जनाइएको छ ।
यो घटनासँगै सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्याश ट्याग जस्टिस फर क्रिस्टिन डेसेरा ट्रेण्ड चलेको छ । द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रिस्टिन डेसेरा फिलिपिन्स एयरलाइन्समा एयर होस्टेस थिइन् ।
उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन जकातीको एक होटलमा बसेकी थिइन् । रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृत अवस्थामा फेला पारे ।
स्थानीय मिडियाका अनुसार पुलिसले क्रिस्टिनको शव बरामद गर्ने बेला उनको शरीरमा धेरै चोटहरु थिए । यी चोटहरुले उनको सामूहिक बलात्कार भएको जनाएको छ । यो घटनाबारे एयर लाइन्सले कुनै बयान जारी गरेको छैन ।
पुलिसले अहिलेसम्म यो घटनाका सम्बन्धमा ११ जनालाई गिरफ्तार गरेको छ । पक्राउ परेकामध्ये ३ जना त्यस रातको पार्टीमा सहभागी थिए । क्रिस्टिनकी आमाले पुलिसलाई दिएको बयानमा छोरी आफ्नो अनुमति लिएर पार्टीमा गएको बताएकी छिन् ।
क्रिस्टिन सामाजिक संजालमा निकै लोकप्रिय थिइन् र उनको फ्यान फलोइङ राम्रो थियो । यही कारण पनि उनको मृत्युको घटनाले सामाजिक संजालमा हलचल ल्याएको छ ।