
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी चेल्सीसँग पराजित भएको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा सुरुवाती लिएको अग्रता जोगाउन नसक्दा चेल्सीसँग २-१ले पराजित भएको छ ।



घरेलु मैदानमा सिटीका लागि ४४ औं मिनेटमा रहिम स्टालिङले गोल गरे । सर्जियो एगुएरोको पासमा गोल गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा पाएको सर्जियोले पेनाल्टी सदुपयोग गर्न नसक्दा सिटी अग्रता दोब्बर बनाउन चुक्यो ।

खेलको ६३ औं मिनेटमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । इन्जुरी समयमा चेल्सीका लागि अलोन्सोले गोल गर्दै रोमाञ्चक जित दिलाए ।
उक्त जितसँगै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । सिटी पहिलो स्थानमा यथावत छ । सिटीको ३५ खेलबाट ८० अंक र चेल्सीको समान खेलबाट ६४ अंक रहेको छ ।
यी दुवै टोली च्याम्पियन्स लिगको फाइनलिष्ट क्लब हुन् । च्याम्पियन्स लिगको फाइनल अघि एक अर्का विरुद्ध मैदान उत्रदा चेल्सीले बाजी मारेको हो ।