
काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ । नेकपाको ११ औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा आजदेखि सुरु भएको हो ।
बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार बन्दीपुर पुगेका थिए । बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिए । बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले मेस चलाउने उनले बताए ।
बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ । बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना छन् ।
बैठक सकिएपछि बन्दीपुरमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णयबारे जानकारी गराइने तर बैठकभित्र पत्रकारलाई प्रवेश नदिइने बताइएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।