कांग्रेसमा किचलो:  १० प्रतिशत भाग खोजेपछि सिटौला अलपत्र

काठमाडाैँ । नेपाली कांग्रेसको संस्थापन पक्ष र रामचन्द्र पौडेल पक्षबीच ६०/४० को भागबण्डामा सहमति बनेपछि तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्षधर रुष्ट बनेको छ ।

 

सिटौला पक्षले दश प्रतिशत भाग खोजेको छ । यसले कांग्रेसमा पुनः विवाद हुने अवस्था छ ।भागबण्डामा चल्न थालेको कांग्रेसमा तीन पक्ष प्रष्ट देखिएका छन् ।

 

१३ औं महाधिवेशनमा सिटौला समुहको साथ पाएर सभापतिमा विजयी बनेका शेरबहादुर देउवाले आफूहरुलाई ‘मिनिमाइज’ गरेको आरोप लगाइएको छ ।

 

कार्य सम्पादन समितिदेखि पार्टीका विभागहरुसम्म सिटौला पक्षले भाग खोज्न थालेपछि संस्थापन पक्ष र पौडेल समुहले ६०/४० को भागबण्डाको आधारमा अघि बढ्ने एकलौटी आन्तरिक सहमती गरेका थिए । संस्थापनपक्ष र पौडेलपक्षको यो सहमतिपछि सिटौला पक्ष अलपत्र परिने चिन्तासँगै अाक्राेशित बनेको छ ।

 

यसअघि सिटौला पक्षलाई सभापति देउवाले १० प्रतिशतका दरले भागबण्डामा सामेल गराउनुभएको थियो । जसका कारण अनुशासन समितिमा सिटौला पक्षका तर्फबाट उमाकान्त चौधरीले प्रतिनिधित्व पाउनुभयो ।

 

देउवाकाे पछिल्लाे प्रधानमन्त्रित्वकालमा सिटौला पक्षका गगन थापालाई स्वास्थ्य र भीमसेनदास प्रधानलाई रक्षा मन्त्रालय दिएर १३ औ महाधिवेशनमा लगाएको गुन तिरेको देउवा पक्षको दाबी छ ।

 

तर पौडेल पक्षका नेता नविन्द्रराज जोसीले गुटगत नभै योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गर्नुपर्ने बताउनुहुन्छ ।

 

पार्टीमा आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा कांग्रेस कार्यसम्पादन समिति, ३२ विभागमध्ये ३० विभागले पूर्णता पाउन सकेको छैन ।