नेपाली महिला भलिबल टोली एसियन सेन्ट्रल जोनको फाइनलमा

काठमाडौं । नेपाली महिला भलिबल टोलीले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको लिग विजेता बन्दै फाइनलमा स्थान बनाएको छ ।
बंगलादेशको ढाकास्थित शाहीदसोह्रावर्दी नेसनल इन्डोर स्टेडियममानेपालले समूह चरणमा सतप्रतिशत नतिजा निकाल्ने क्रममा सोमबार कीर्तिस्तानलाई २५–८ २५–१५, २५–१७ को सेटमा हराएको हो ।

यससँगै नेपालले अब प्रतियोगिताको उपाधिका लागि मंगलबार उज्वेकिस्तानविरुद्ध खेल्नेछ । उज्वेकिस्तानले सोमबार सम्पन्न खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
नेपाली महिला भलिबल टोली यस प्रतियोगिताको साविक विजेता टोली हो । अघिल्लो संस्करणमा नेपालले कुनै पनि सेट नगुमाई प्रतियोगिताको उपाधि उचालेको थियो ।

तर, यसपटक भने नेपाली पहिलो खेलमा श्रीलंकासँग दुई सेट गुमाइसकेको छ । तथापि, नेपाल अपराजित छ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । दोस्रो खेलमा बंगलादेशलाई ३–०, तेस्रो खेलमा माल्दिभ्सलाई ३–० र चौथो खेलमा उज्वेकिस्तानलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालको पाँच खेलबाट १४ अंक जोड्दा उज्वेकिस्तानको १२ अंक छ । श्रीलंकाले ११ जोड्यो भने कीर्गिस्थानले ९ अंक जोडेको छ । बंगलादेश र माल्दिभ्सको अहिले खेल भइरहेको छ । प्रतियोगितामा तेस्रो स्थानको लागि कीर्गिस्थान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछ ।