१६ जिल्लामा एमाले अधिवेशन नहुने

काठमाडौँ : ६० भन्दा बढी जिल्लामा आज एकै दिन नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो । बाँकी जिल्लामा प्रतिकूल मौसम र आन्तरिक तयारी नपुगेकाे भन्दै अधिवेशन राेकिएकाे छ । महाधिवेशनपूर्व एमालेले पालिकास्तरको अधिवेशन एकै दिन गरेको थियो ।

सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले भूगोल र विशेष क्षेत्रका जिल्लाको अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको ‘एक्सन रूम’बाट एकैसाथ ‘भर्चुअल’रूपमा गरेका छन् ।

बिज्ञापन

सो पार्टीको काठमाडौँ जिल्ला कमिटीले अध्यक्ष ओलीकाे उपस्थितिमा मूलपानीस्थित क्रिकेट खेल मैदानमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ भने ललितपुर जिल्ला कमिटीले महासचिव शङ्कर पोखरेलका उपस्थितिमा अधिवेशन उद्घाटन कार्यक्रम राखेको छ । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिसो मौसम र आन्तरिक तयारी अपुग भएका हिमालीलगायत १६ जिल्लामा आज अधिवेशन तोकिए पनि राेकिएकाे छ ।

मौसमी प्रतिकूलताका कारण जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोकिनेछ । गत १० मंसिरदेखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको २५ र २६ मंसिरमा भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले यही २३ पुसका लागि जिल्ला र आगामी ८ माघका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन् ।

एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने भएको छ । जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश संगठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्नेछ ।

अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ । निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ । एमालेले २२ जनसंगठनको सुदृढीकरणका लागि दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशाअनुरुप जनसंगठनलाई नीतिगतरूपमा परिचालित गर्ने गरी आवश्यक योजना पनि बनाउन थालेको छ ।

जनसंगठनको कार्यक्षेत्रसँग सम्बद्ध अन्य संगठनमा आबद्ध व्यक्तिको प्रवेशको सम्भावना आँकलन गरी सम्बन्धित संगठनमा प्रवेशको योजना अघि बढाउने र सबै जनसंगठनले आआफ्नो कामको आवश्यकताका आधारमा कमिटीको आकारलाई चुस्तदुरुस्त बनाउने गरी विधानमा आवश्यक संशोधन गर्न एमालेले निर्देशन दिइसकेको छ ।

एमालेको जनसंगठन संयन्त्रले ती संगठनका काम गरेका नेता कार्यकर्ताको व्यवस्थापन र संगठन परिचालनबारे नयाँ मापदण्ड पनि तयार गरिरहेको छ । लामो समयदेखि सम्बन्धित जनसंगठनको वैधानिक व्यवस्थाअनुरुप हुन बाँकी (आधारभूत तहदेखि राष्ट्रिय तहसम्मको) अधिवेशन/सम्मेलन/महाधिवेशन आगामी फागुन मसान्तसम्ममा आयोजना गर्ने गरी कार्ययोजना तयार गर्न एमालेले निर्देशन दिएको छ ।