
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थमन्त्रालयको डिलिट भएको भनिएको सिसिटिभी फुटेज एक घण्टामै रिकभर गरिदिने गरिदिने दाबी गरेका छन्।
शनिबार धनगढीमा पार्टीको प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो दाबी गरेका हुन्। ‘चुनौतीका साथ भन्छु, मलाई एक घण्टाका लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्’,उनले भने, ‘कस्तो कलरमा चाहिन्छ ? एचडीमा चाहियो कि फोरके ?आम सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला।’
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले हिजो सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ। प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘करका दर निर्धारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन। सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभाव प्रसंङ्ग सान्दर्भिक रहेन।’
पूर्व अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा एकजना पूर्वनायब सुब्बालाई जेठ १४ गते राति १२ बजे मन्त्रालयमा बोलाएर करका दरहरू हेरफेर गर्न लगाएको आरोप लागेको छ। साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको थियो।