
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार घरेलु टोली केन्यासँग दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ ।
यता, केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । नेपालले केन्याविरुद्ध भदौ १२ गते तेस्रो खेल खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।