अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

वासिङ्टन : कोरोना भाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा अमेरिकाका विभिन्न राज्य एवं शहरमा कोरोनाभाइरस संक्रमण तिब्र रुपमा फैलिएको छ ।

बिज्ञापन

अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ४१ लाख पुगिसकेको छ जसमध्ये ८३ लाख ३३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विश्वभर कोरोना संक्रमणबाट १४ लाख ८६ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

विश्वविद्यालयका अनुसार विश्वभर छ करोड ४१ लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार करोड ४४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन् । अझै पनि विश्वभर एक लाख छ हजार व्यक्ति गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् ।