दलाई लामाले आफ्नो उत्तराधिकारी महिला भए आकर्षक हुनुपर्ने भनेपछि…

एजेन्सी । धार्मिक गुरु दलाई लामाले बीबीसीसँगको एउटा अन्तरक्रियाको क्रममा महिलाबारे गरेको टिप्पणीको लागि माफी मागेका छन् ।

उनको कार्यालयले एउटा वक्तव्य जारी गर्दै दलाई लामाले महिलालाई वस्तुको रुपमा प्रस्तुत गर्ने कुराको सधैं विरोध गर्ने गरेको स्पष्टीकरण दिएको छ ।

बिज्ञापन

अन्तरक्रियाको क्रममा उनलाई भावी दलाई लामा महिला हुन सक्छिन् कि सक्दिनन् भनेर सोधिएको थियो । त्यसमा उनले महिला दलाई लामा हुनसक्ने तर उनी आकर्षक हुनुपर्ने बताएका थिए ।
‘दलाई लामा’ तिब्बतको आध्यात्मिक नेताको पद हो ।

दलाई लामाको कार्यालयले जारी गरेको वक्तव्यमा आधात्मिक नेताको उद्देश्य कसैलाई चोट पुर्याउने नभएको भनिएको छ । लामाको भनाइले चोट पुगेकाप्रति वक्तव्यमा माफी मागिएको छ ।

दलाई लामाले यस अघि पनि सन् २०१५ मा पनि भाबी दलाई लामा महिला हुन सक्ने कुरा बताएका थिए । त्यसबखत पनि उनले महिला दलाई लामा हुने अवस्थामा ती आकर्षक हुने पर्ने बताएका थिए ।

महिला दलाई लामा आकर्षक हुनुपर्ने धारणा दोहो¥याउँदै दलाई लामाले भनेका थिए ,‘जति दिमागको महत्व छ त्यति महत्व अनुहारको आर्कषणको पनि हुन्छ ।’

यसको कारण बताउदैं उनले भनेका थिए ,‘यसको कारण छ यदी कुनै महिला लामा भइन् भने उनी खुसी रहँदा त्यो खुसी उनको वरिपरि बसेका मानिसमा पनि प्रसार हुन्छ । कोही महिला लामा हेर्दै दुखी देखिन्छिन् भने मानिस उनलाई हेर्न मन पराउँदैनन् ।’

दलाई लामाको यस भनाइपछि प्रश्नकर्ताले यस कुराले धेरै महिलालाई चोट पुग्दैन भनेर सोधिएको थियो । जवाफमा दलाई लामाले भनेका थिए ,‘ असली सुन्दरताका मनको सुन्दरताका हो भन्ने कुरा साँचो हो । तर मेरो विचारमा आकर्षक देखिन पनि त्यतिकै जरुरी हुन्छ ।’

त्यस्तै सोही अन्तरक्रियामा युरोपको शरणार्थी संकटबारे बोल्ने क्रममा पनि लामाले विवादास्पद टिप्पणी गरेका छन् । यस सम्बन्धमा दलाई लामाको भनाइको गलत अर्थल लगाइएको उनको कार्यलयले बताएको छ ।

आफै निर्वासित जीवन बिताइरहेका दलाई लामाले युरोपले निश्चित सीमासम्म मात्र शरणार्थी लिनुपर्ने बताएका थिए । त्यसका साथै उनले ती देशको अन्तिम लक्ष ती शरणार्थीलाई तिनको देश फर्काउने हुनुपर्ने बताएका छन् ।

थप बोल्ने क्रममा उनले भनेका थिए ,‘ तर शरणार्थीको आगमनले सम्पूर्ण यूरोप मुसलमान देश बन्नेछ ? असम्भव । वा अफ्रिकी बहुल मुलुक हुनेछ, त्यो पनि असम्भव । युरोपलाई युरोपेली मुलुकको लागि राखियोस् ।’

दलाई लामाको कार्यलयले जारी गरेको वक्तव्यमा लामाको भनाइको प्रतिरक्षा गर्दै अनौपचारिक सम्वादमा कहिलेकाँही यस्तो हुने बताइएको छ । एउटा सांस्कृतिक परिपेक्षमा यो राम्रो सुनिन्छ तर जब त्यसैलाई अन्य भाषामा अनुवाद गर्ने क्रममा संवादलाई रसिक बनाउन प्रयोग भएको व्यङ्ग्यको गलत अर्थ लाग्ने गर्छ ।