
वीरगञ्ज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैको संविधान नभएसम्म, उत्पीडनमा रहेका समुदायले आफ्नो संविधान हो भनेर महशुस गर्न नसक्ने बताएका छन् । आज वीरगञ्ज घण्टाघरस्थित शहीद पार्कका ०६२-६३ र ०७२ सालको मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदहरु तथा बाबा रामजनम तिवारीको प्रतिमामा माल्यार्पण गर्न पुगेका उनले सो कुरा बताएका हुन्।

उत्पीडनमा पारिएको समुदायले आफ्नो अधिकारका नीम्ति संघर्ष जारी राख्ने उनले बताए । उनले भने ‘उत्पीडनमा परेका समुदायले संविधान आफ्नो नठानेसम्म संघर्ष जारी रहन्छ’। प्राप्त भएका उपलब्धिको संस्थागत नभएसम्म जनता समाजवादी पार्टीले संविधान संशोधनको माग नछोड्ने उनको भनाइ छ । संविधान मार्फत प्राप्त भएका उपलब्धिको संस्थागत गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्ने उनले बताए । उनले प्रहरी दमनको शिकार भई घाइते भएकाहरुलाई पनि आफूले नभुलेको बताए।



यस्तै सांसद प्रदीप यादवले पनि शहीदहरुको प्रतिमामा माल्यार्पण गरेका थिए । असोज ३ गते संविधान जारी भएका दिन वीरगञ्जमा विरोध प्रदर्शन भएको थियो ।
